nepalaya

पलेँटीमा अग्रज गीतकार शिवशंकर थापा

May 27, 2026
पलेँटीमा अग्रज गीतकार शिवशंकर थापा

प्रत्येक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको 'आर'सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा आगामी शुक्रबार सुप्रसिद्ध गीतकार शिवशंकर थापाका गीति रचनाहरू प्रस्तुत हुने भएका छन् ।

पलेँटी कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।

शिवशंकर थापा लामो समयदेखि झापाको विर्तामोडमा रहेर साहित्य साधना गरिरहेका शब्द-शिल्पी हुन् । शिवशंकर नेपाली साङ्गीतिक जगतका सम्पूर्ण नेपालीभाषी माझ स्थापित नाम हो ।

थापाका अधिकांश गीति रचनालाई गायक तथा सङ्गीतकार दीप श्रेष्ठले धुन भरेर गाएका छन् । श्रेष्ठले धुन भरेका गीतहरू- 'भन्थी मेरी उनी', 'विधुवाले सिन्दूरको रहर', 'म त आकाशको जून हुँ', 'मेरो आँखामा हरदम' लामो समयदेखि उत्तिकै लोकप्रिय रहँदै आएका छन् ।

उल्लेखित गीतका साथै गीतकार थापाले रचेका गीतहरू- 'हावासँगै बगुँ भन्छ', 'मेरो रहर ब्यूँझिएर', 'केही ल्याउन सकिनँ', पनि उत्तिकै लोकप्रिय रहँदै आएका छन् । जसलाई सङ्गीतकार सुवर्ण लिम्बू र प्रकाश गुरुङले धुन भरेका हुन् ।

गीतकार थापाका अनुज पुस्ताका सङ्गीतकार आभासले पनि उनका शब्दमा भरखरै सहकार्य गरेका छन् । 'म त अक्षरको मान्छे हुँ, शिरदेखि पढ या पाउदेखि पढ' बोलको गीतलाई पलेँटीका कण्ठ-शिल्पीले पहिलोपटक मञ्चमा प्रस्तुत गर्नेछन् । यसका साथै कार्यक्रममा सङ्गीतकारहरू बलराम समाल, युवराज पोर्तेल, मणी बर्देवाले धुन भरेका रचनाहरू पनि प्रस्तुत हुनेछन् ।

यसपालीको पलेँटीमा कण्ठ-शिल्पी अभिज्ञा घिमिरे र रुपक चौधरीले शिवशंकर थापाका सम्पूर्ण रचनाहरूलाई आफ्ना कण्ठले गुञ्जायमान बनाउने छन् ।

पलेँटीका निम्ति काठमाडौं आइपुगेका गीतकार शिवशंकर थापा भन्छन्- 'पलेँटीमा सहभागी हुन पहिलेदेखि नै अनुरोध भएको हो । स्वास्थ्यको प्रतिकूलताले गर्दा, बल्ल मौका जुर्‍यो । जीवनको उत्तरार्धमा यस कार्यक्रमसँग जोडिन पाउँदा खुशी लागेको छ । पलेँटीले श्रष्टाहरूलाई मञ्चमा उतारेर उच्चतम सम्मान गर्दै आएको छ । यो लहरमा मिसिन पाएँ; आभारी छु ।'

यसपालीको कार्यक्रम बारे पलेँटीका संयोजक आभासको भन्छन् - 'सानै उमेरदेखि म शिवदाइका शब्दको फ्यान हुँ ! उहाँसँग तीन दशक पहिले नै साङ्गीतिक सङ्गत गरेको अनुभव समेत छ मसँग । त्यसलाई पलेँटीमार्फत् ताजा गराउन पाएकोमा औधी खुशी लागेको छ ।

पलेँटी कार्यक्रम यही मे महिनाको अन्तिम शुक्रबार; २९ तारिखका दिन आयोजना हुनेछ ।

कालिकास्थानस्थित नेपालयको 'आर'शालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।

'आर'शालामा उपस्थित हुन असमर्थ सङ्गीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्न Pay-Per-View को व्यवस्था पनि गरिएको छ । त्यसका निम्ति पलेँटीको वेभ साइटमा रहेको Purchase Live Access बटनमा क्लिक गरेर आफ्नो वालेट प्रयोग गर्नुपर्ने हुन्छ ।